मङ्सिर १५ बुटवल ।
लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा. लि. बीच सोमबार एक कार्यक्रमका बीच एमओयू सम्पन्न भएको छ । लुम्बिनी वाणिज्य क्याम्पसमा दुई संस्थाबीच आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।
लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीहरुका लागि क्लासिक टेकमा इन्टर्न गर्ने अवसर प्रदान हुनुका साथै विभिन्न पदमा जब प्लेसमेन्टको अवसर पनि प्रदान गरिने सहमति पत्रमा उल्लेख छ ।
सम्झौता अनुसार क्लासिक टेक प्रा. लि. द्वारा प्रदान गरिने सेवा र सुविधाहरू यसप्रकार छन्:
- कम्पनीमा सृजना हुने नयाँ पदहरूमा क्याम्पसले सिफारिस गरेका विद्यार्थीहरूलाई प्राथमिकता दिने।
- “Learning-by-Doing Program” मार्फत विद्यार्थीहरूलाई वास्तविक बजारमा बिक्री तथा मार्केटिङको व्यावहारिक अनुभव दिलाउने।
- “Earn While You Learn” योजना अन्तर्गत प्रदर्शन–आधारित प्रोत्साहन तथा कमिसनको सुविधा उपलब्ध गराउने।
- मार्केटिङ, ग्राहक सेवा तथा सम्बन्धित क्षेत्रमा इन्टर्नसिप र अनुसन्धानमा सहयोग प्रदान गर्ने।
- क्याम्पसका औपचारिक कार्यक्रमहरूका लागि इन्टरनेट पार्टनरको रूपमा काम गर्दै आवश्यक इन्टरनेट सेवा र प्राविधिक सहयोग उपलब्ध गराउने।
- विद्यार्थीहरूलाई इन्टरनेटसम्बन्धी जिज्ञासा, अनलाइन फारम भराइ लगायतमा सहयोग पुर्याउने गरी Digital Help Desk सञ्चालन गर्न सहयोग गर्ने।
यस सम्झौताले रोजगारदाता र क्याम्पसबीचको दूरी घटाइ विद्यार्थीलाई रोजगारमुखी, व्यवहारिक र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका रहने विश्वास लिएको क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले बताउनुभयो । सम्झौताको मितिदेखि एक महिनासम्म लुम्बिनी बाणिज्य क्याम्पसका सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरुलाई क्लासिक टेकको नयाँ इन्टरनेट जडान र नविकरणमा १०% छुट प्रदान गरिने बुटवल शाखा प्रमुख सन्तोष कुवरले जानकारी दिनुभयो
लुम्बिनी वाणिज्य क्याम्पसको तर्फबाट काउन्सिलिङ एण्ड प्लेसमेन्ट सेल संयोजक उपप्राध्यापक मुकुन्द ज्ञवाली र क्लासिक टेकको तर्फबाट बुटवल शाखा प्रमुख सन्तोष कुवरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो भने कार्यक्रममा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख उपप्राध्यापक महेश प्रसाद चौधरी कुर्मी, स्याट संयोजक उपप्राध्यापक पुनाराम घिमिरे, कर्मचारी संघ इकाई समिति अध्यक्ष पुष्कर भुसाल लगायतको उपस्थिति रहेको थियो ।