
आषाढ १० । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापकहरुको लागि आयोजित पेशागत विकास तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा आयोजित तालिमममा लुम्बिनी प्रदेशका १४ क्याम्पसहरुबाट ३० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो । तालिमको समापन सत्रमा लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, लुम्बिनी वाणिज्य क्याम्पसका संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र उपप्राध्यापक मुकुन्द ज्ञवालीको सञ्चालन रहेको थियो । समापन सत्रमा बोल्दै प्रमुख अतिथि एवं लुम्बिनी वाणिज्य क्याम्पसका संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठले तालिममा सिकेका ज्ञान, सिपले प्राध्यापकहरुको वृत्ति विकास संगै नविनतम खोज, अनुसन्धानमुलक कार्यमा सहयोग पुर्याउनेविश्वास व्यक्त गर्नुभयो । तालिमको समापन सत्रमा बोल्दै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख एवं श्रोत व्यक्ति प्रा.डा. तारा प्रसाद उपाध्यायले प्राध्यापकहरुको वृत्ति विकासका लागि आयोजना गरिएको यस प्रकारको तालिमले स्वयं प्राध्यापक, विद्यार्थी, विश्वविद्यालय र समाज सबैलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो साथै सहभागी प्राध्यापकहरुले तालिमबाट प्राप्त ज्ञान, सिपलाई आआफ्नो क्याम्पसमा प्रस्तुत गरेमा मात्र तालिमले सार्थकता पाउने बताउनुभयो । यस्तै समारोहमा बोल्दै लुम्बिनी वाणिज्य क्याम्पस स्याट संयोजक एवं श्रोत व्यक्ति उपप्राध्यापक पुनाराम घिमिरेले विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा लुम्बिनी वाणिज्य क्याम्पसको सम्पूर्ण व्यवस्थापनमा तालिम सम्पन्न भएको बताउदै आउँदा दिनहरुमा पनि विश्वविद्यालय अनुदान आयोग, नेपाल मार्फत क्याम्पसमा थप महत्वपूर्ण तालिमहरु आयोजनका लागि पहल गर्ने बताउनुभयो । तालिममा सहभागीहरुको तर्फबाट बोल्दै प्राध्यापकहरु सुर्य शर्मा र माया घिमिरे अर्यालले तालिममा प्रशिक्षण दिने श्रोत व्यक्तिहरु, क्याम्पसले प्रदान गरेको आतिथ्यता र समग्र व्यवस्थापन अत्यन्तै उत्कृष्ट रहेको बताउदै लुम्बिनी वाणिज्य क्याम्पस नमूना र नेतृत्वदायी क्याम्पस हो भन्ने कुरा फेरी पनि प्रमाणित गर्न सफल भएको बताउनुभयो । तालिमका क्रममा सिकेका ज्ञान, सिपहरु अत्यन्तै लाभदायिक रहेको र आआफ्नो क्याम्पसमा गएर सिकाईको उचित प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
आषाढ ६ गतेदेखि सुरु भएको तालिमको समापन गर्दै लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले प्राध्यापकहरुको पेशागत वृत्ति विकासका लागि क्याम्पसले आयोजना गरेको तालिमलाई पूर्ण सहयोग गरेकोमा विश्वविद्यालय अनुदान आयोग, नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्नको लागि सहभागीहरुको महत्वपूर्ण भुमिका रहेको बताउदै तालिम सम्पन्न गर्नको लागि सहयोग पुर्याउने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो । तालिममा विभिन्न श्रोत व्यक्तिहरुले विभिन्न विषयहरुमा रहेर कार्यशाला मार्फत प्रशिक्षण दिनुभएको थियो । उक्त तालिमको समापन समारोहमा श्रोत व्यक्तिहरु र उत्कृष्ट सहभागीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।