
ज्येष्ठ २० बुटवल । युवाहरुमा उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सात दिने अन्ट्रपेनरसिप बुट क्याम्प सुरु भएको छ ।
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको उक्त कार्यक्रममा देशभरका विभिन्न जिल्लाहरुबाट छनोट भएका २० जना युवाहरूको सहभागिता रहेको छ । देशभरका आवेदकहरु मध्येबाट विभिन्न चरणको छनौट प्रक्रियाबाट छनौट भएका युवाहरुलाई बुट क्याम्पमा सहभागि गराइएको हो । बुट क्याम्पमा सहभागिता जनाउन व्यवसायको नवीन सोच सहित आवेदन दिन परिषद्ले सार्वजनिक सूचना आह्वान गरेको थियो । सात दिनको क्याम्पमा सहभागिले आफ्नो व्यवसायिक सोचलाई विभिन्न कोणबाट मुल्याङ्कन गर्ने अवसर पाउनेछन् भने त्यसलाई उद्यम व्यवसायमा रुपान्तरण गर्नका लागि आवश्यक विषयवस्तुहरु बुट क्याम्प मार्फत सिकाइने छ ।
उद्घाटन सत्र राष्ट्रिय युवा परिषद्का उपसचिव तारापति खरेलको अध्यक्षता, लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता र शिवराज अधिकारीको सञ्चालन रहेको थियो ।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रा.डा. ताराप्रसाद उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पसले उद्यमशीलतालाई प्राथमिकता दिदै निरन्तर रुपमा युवा नवप्रवर्तन तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उद्यमशील बन्ने र बनाउने अभियानमा लागेको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता बुट क्याम्प आयोजना गरेकोमा राष्ट्रिय युवा परिषद्लाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उद्घाटन सत्रमा बोल्दै राष्ट्रिय युवा परिषद्का उपसचिव तारापति खरेलले स्वदेशमा नै उद्यमका सम्भावना पहिल्याउने र वैदेशिक रोजगारीमा पलायन हुने युवाको संख्या घटाउनका लागि युवा परिषद्ले निरन्तर काम गर्दै आएको बताउनुभयो । एक शिक्षणसंस्था एक उद्यम कार्यक्रम, युवाका लागि विज्ञान तथा प्रविधि प्रवद्र्धन कार्यक्रम, विज्ञान तथा प्रविधिमा युवा सम्मेलन, युवा प्रतिभाहरुको खोजी तथा प्रोत्साहन कार्यक्रम, संघसंस्थाहरू तथा अन्य निकायसँगको साझेदारीमा युवा लक्षित कार्यक्रम, युवा सञ्जाल गठन तथा परिचालन, युवा नीति तथा युवाका मुद्दाहरुमा वहस पैरवी गोष्ठी, युवा परामर्श युवा अनुभव आदान प्रदान, घुम्तीकोषमा आधारित युवा उद्यम कार्यक्रम, युवा सम्बन्धी आवधिक तथा वार्षिक वुलेटिन प्रकाशन, युवा विकासका लागि सञ्चार माध्यमसँगको समन्वय र सहकार्य, युवा नवप्रवर्तन तथा इन्क्युवेसन सेन्टर सञ्चालन जस्ता कार्यक्रमहरु परिषद् मार्फत हुँदै आइरहेको उहाँले बताउनुभयो । साथै उहाँले युवाहरूले बनाएका नविनतम व्यवसायिक विचार तथा सोचलाई व्यवसायमा परिवर्तन गर्ने मुख्य उद्देश्यका साथ सात दिने बुट क्याम्प सञ्चालन गरिएको बताउनुभयो ।
उद्घाटन सत्रमा बोल्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले सहभागिहरुलाई व्यवसायको ढाँचा, निर्माण प्रकृया एवं व्यवसायिक मोडेलका बारेमा इन्कुवेसन सेन्टर मार्फत सिकाईने बताउनुभयो । सात दिने बुट क्याम्पको पहिलो दिन प्रशिक्षकहरु पुनाराम घिमिरे र मुकुन्द ज्ञवालीले उद्यमशीलता सम्बन्धी विभिन्न विषयवस्तुमा रहेर प्रशिक्षण दिनुभएको थियो ।