मोहन पौडेल बुटवल, असार २२ । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको सञ्चालक समितिमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को चौधौं  क्याम्पस सभाले आगामी तीन वर्षको लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । १३ सदस्यीय क्याम्पस सञ्चालक समिति रहनेमा शनिवार सम्पन्न सभाले सञ्चालक समितीको अध्यक्षमा सुरेन्द्र प्रसाद श्रेष्ठलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । 
क्याम्पस सभामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष एवं परिषद्का पदेन सदस्य  उमाकान्त चपाइँले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै अग्रणी शैक्षिक धरोहर रहेको उल्लेख गर्दै क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सभामा बोल्दै विशिष्ट अतिथि एवं बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले क्याम्पस राष्ट्रकै नमुना क्याम्पस रहेको र नयाँ नेतृत्वले पनि क्याम्पसको गरिमालाई अझै उचाँईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सभामा बोल्दै लुम्बिनी वाणिज्य क्याम्पस स्ववियु अध्यक्ष विजय कार्कीले क्याम्पसको नयाँ नेतृत्वले क्याम्पसको चौतर्फि उन्नयनका साथसाथै विद्यार्थीहरुको सर्वाङ्गिण हितमा पनि ध्यान दिई अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । 
सभाको अध्यक्षता ग्रहण गर्नुभएका क्याम्पस व्यवस्थापन तथा विकास परिषद्का अध्यक्ष मोतीलाल पाण्डेले आफ्नो दुई कार्यकाल सफलतापुर्वक सम्पन्न गर्न अहम भुमिका खेल्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको सञ्चालन रहेको सभामा सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले क्याम्पसको सर्वोपरि हितको लागि सरोकारवाला सबैसंग आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चौधौं सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आ.व. ०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन तथा आ.व. ०८१÷०८२ को अनुमानित बजेट समेत अनुमोदन गरेको छ भने आ.व. ०८०÷०८१ का लागि लेखापरीक्षकको नियुक्ति, विधान तथा नियमावली २०६६ संशोधन, परिषद् सदस्य मनोनयन लगायतका विषयमा छलफल गरि अनुमोदन समेत गरेको छ ।
वि.सं. २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक रुपमा कोचिङ कक्षाको रुपमा सञ्चालन गरिएकोमा लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि करिब ४४ वर्षको अवधीमा आईपुग्दा व्यवस्थापनतर्फ देशकै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित भएको छ । २०६८ साल र २०७५ सालमा दुईपटक क्यू.ए.ए. प्राप्त तथा सामुदायिक क्याम्पसहरु मध्ये नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दुई पटक सम्मानित यस क्याम्पसमा हाल बि.बि.एस., बि.एम.एस., बि.बि.एम., बि.बि.एम. अप्लाईड, बि.बि.ए. एफ.ए., एम.बि.एस., एम.बि.एस. फाइनान्स र एम.बि.ए. बि.एफ.का कक्षाहरु सञ्चालन भईरहेका छन् । स्थायी, आंशिक र करार गरि ६५ जना प्राध्यापक तथा कर्मचारी कार्यरत यस क्याम्पसमा सबै कार्यक्रमतर्फ हाल चार हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।