ज्येष्ठ ५ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बैङ्किङ सेमिनार सम्पन्न भएको छ।

अध्ययन सङ्गसङ्गै अनुसन्धानलाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ एमविए तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुको लागि पोखरामा उक्त सेमिनार आयोजना गरिएको हो। एमविए कार्यक्रम डाइरेक्टर उपप्राध्यापक डा. भगवती प्रसाद चौधरीको अध्यक्षता, कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक विरन्जी गौतमको प्रमुख आतिथ्यता, प्रा.डा. राधेश्याम प्रधानको विशिष्ट आतिथ्यता, प्रा.डा. ध्रुवराज पोख्रेल, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्याय र सहप्राध्यापक भरत भुसालको उपस्थिति रहेको सेमिनारको उद्घाटन सत्रको संचालन विद्यार्थी  गोपाल खनालले गरेका थिए भने स्वागत मन्तव्य विद्यार्थी प्रकाश पौडेलको रहेको थियो। 

सेमिनारको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गौतमले लुम्बिनी वाणिज्य क्याम्पसले नियमित रूपमा अनुसन्धानमुलक कार्यक्रम गरेकाले नै फरक पहिचान बनाएको बताउनुभयो । विशिष्ट अतिथि प्रधानले विद्यार्थीका लागि अनुसन्धान अत्यन्तै महत्वपूर्ण रहेकाले अनुसन्धान कार्यमा विद्यार्थीहरुलाई यसरी नै निरन्तर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

प्रा.डा. राधेश्याम प्रधानको अध्यक्षता तथा प्रा.डा. ध्रुवराज पोख्रेल विज्ञ रहेको टेक्निकल सेसनमा ३३ जना विद्यार्थीहरुले आ-आफ्नो अनुसन्धानमुलक लेख प्रस्तुत गरेका थिए भने अनुसन्धानमा थप निखारता ल्याउन गर्नुपर्ने कामहरुको बारेमा विद्यार्थीलाई विज्ञले सुझाव समेत प्रस्तुत गर्नुभको थियो ।