जेष्ठ २८, बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्रा. डा. ताराप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । आइतवार बसेको क्याम्पस सञ्चालक समितीको बैठकले क्याम्पस प्रमुखमा पुनः उपाध्यायलाई नियुक्त गरेको हो । उपाध्याय पहिलो ५ वर्षको कार्यकाल सक्याएर दोस्रो कार्यकालको लागि नियुक्त हुनुभएको हो ।
सोही  क्याम्पसमा २०५४ सालदेखि अध्यापन गराउदै आउनु भएका क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. उपाध्यायलाई २०७५ साल असार १ गतेदेखि लागु हुने गरी क्याम्पस सञ्चालक समितिको बैठकले पहिलोपटक क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । 
उहाँको अधिकांश कार्यकाल कोरोना कहरका बिच बितेतापनि उक्त समयमा क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने क्याम्पसको दीर्घकालिन सोचले थप गति पाएको थियो भने त्रि.वि.को प्राज्ञिक स्वायत्तता अन्तर्गत ४ वटा स्वायत्त कार्यक्रमहरु थप भई सञ्चालनमा समेत आएका थिए । 
दोस्रो कार्यकालको लागि क्याम्पस प्रमुखमा नियुक्त भएसंगै डा. उपाध्यायले क्याम्पस सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैको सहयोगमा क्याम्पसले देखेको सपना पूरा गर्न निस्वार्थ रुपले निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
कपिलवस्तुको बाणगंगा नगरपालिकाको गजेडामा जन्मिएर भारतमा अध्ययन गर्नुभएका क्याम्पस प्रमुख डा. उपाध्यायले भारतकै नर्थइष्ट हिल युनिर्भसिटीमा प्रारम्भमा ३ बर्ष अध्यापन गराउनु भएको थियो भने उहाँ गुहाटी विश्वविद्यालको स्नातकोत्तर तहमा गोल्ड मेडलिस्ट समेत हुनुहुन्छ  । डा. उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यापन गराउदै गर्दा भारतको बनारस विश्वविद्यालयबाट नेपालमा वाणिज्य बंैकहरुमा सुशासनको अभ्यास बिषयमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गर्नुभएको छ ।
लेखनमा समेत निकै रुचि राख्ने उहाँका लेखा तथा लेखापरीक्षण सम्बन्धी १७ वटा पुस्तक प्रकाशित भएका छन् भने २६ बढी अनुसन्धानमुलक लेखहरु नेपाल र विभिन्न देशहरुबाट प्रकाशन हुने जर्नलहरुमा समेत प्रकाशित भएका छन ।
हाल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा श्रीमति रजनी शर्मा, छोरी आत्मिका ज्ञवाली, छोरा अनुरन्जन ज्ञवाली सहित बसोवास गर्दै आउनु भएका रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष समेत रहनुभएका ५४ बर्षिय डा. उपाध्याय विभिन्न व्यवसायीक तथा सामाजिक संस्थाको सल्लाहकार समेत हुनुहुन्छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संचालक समेत हुनुहुन्छ ।