मोहन पौडेल – फाल्गुण २७ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
विविएम पाचौ, छैठौं तथा सातौ समुह लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम अप्लाइड प्रथम समुहका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा भर्खरै स्नातक तह सक्काएका विविएम चौथो समुहका विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी वाणिज्य क्याम्पस, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेले क्याम्पसको शैक्षिक गुणस्तरका लागि क्याम्पसले हरेक प्रकारका कार्यक्रमहरु संचालन गरिरहेको र त्यसबाहेक विद्यार्थीहरुको आफ्नै प्रयासमा हुने यस प्रकारको गतिविधिले पनि क्याम्पस यो अवस्थामा पुग्न इटा थपिरहेको बताउदै सम्पूर्ण विद्यार्थीहरुप्रती आभार प्रकट गर्नुभयो ।

विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले नवआगन्तुक विद्यार्थीहरुले विविएम कार्यक्रम र क्याम्पसको गरिमा अझै बढाउन सफल हुने विश्वास व्यक्त गर्दै विविएम चौथो समुहका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका अतिथि एवं विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्माले शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा चौथो समुहका विद्यार्थीहरुलाई सम्मान प्रकट गर्नुभयो । साथै उहाले क्याम्पसले विद्यार्थीहरुको हरेक रचनात्मक गतिविधिलाई साथ दिने भएकोले यसप्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यार्थीप्रती धन्यवाद ज्ञापन गर्नुभयो।

स्वागत तथा सम्मान कार्यक्रम संयोजक तथा विविएम आठौं सेमेष्टरका विद्यार्थी सुदिप घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगन्तुक विद्यार्थी विविएम अप्लाइड दोश्रो सेमेष्टरका मिलन बि.क.ले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा अध्ययन गर्न पाउनु आफ्नो लागि सुनौलो अवसर रहेको बताउनुभयो । विविएम आठौ सेमेष्टर उत्तीर्ण भएका विद्यार्थी प्रविन पाण्डेले क्याम्पसले सिकाएको ज्ञान र संस्कारले जहाँ गएपनी पछाडि फर्केर हेर्नू नपर्ने र क्याम्पसमा सिकेको व्यवहारिक ज्ञानकै कारण आफुहरु बजारमा सफल हुने विश्वास व्यक्त गर्दै विद्यार्थी जानू र आउनु एउटा सामान्य प्रक्रिया भएपनी लुम्बिनी वाणिज्य क्याम्पसको नामसित जोडिन पाउनु गर्वको विषय रहेको बताउनुभयो। विविएम चौथो सेमेस्टरकि विद्यार्थी मनिसा पौडेलको सभापतित्वमा भएको औपचारिक कार्यक्रमको सञ्चालन प्रकाश पौडेल र अनिसा खानले गर्नुभएको थियो भने दिनभर क्याम्पसमा भएको सांस्कृतिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रमको संचालन दिलिप पाण्डे, आस्था खत्री र रोशनी थापाले गर्नुभएको थियो । सो अवसरमा मिस तथा मिस्टर फ्रेसर प्रतियोगिता संचालन, विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो र विदाइ भइ जाने विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पनि गरिएको थियो ।